२०८२ पौष २५ शुक्रवार , ०३:४७:१० बजे

Sajhamanch
'

मेचीनगरको नगरसभामा भदौ २३–२४ को राष्ट्रिय विध्वंशले ३२ करोड बजेट रोकिएको जानकारी

बिहिवार, पौष २४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको आठौं बैठक आज सम्पन्न भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा अर्धवार्षिक समीक्षा सभा गरिएको हो ।

सभामा उपप्रमुख मीना पोखरेल उप्रेतीले आ.व. २०८२/८३ को एक अर्ब ९० करोड बढीको बजेटसहित विभिन्न नीति तथा कार्यक्रमका शिर्षकहरुमा भएका प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।

गत भदौ २३ र २४ गतेको राष्ट्रिय विध्वंश पछि दुई महिना नगरपालिका कार्यालय समस्यामा परेकाले विभिन्न योजना लगायतका कामहरुलाई निरन्तरता दिन नसकिएको उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले भदौ २३ र २४ गतेको घटना पछि अन्य पालिकामा संयुक्त वडाबाट काम भइरहेका छन् तर मेचीनगरमा सबै वडाबाट सेवा प्रदान गरिरहेको सुनाउनु भयो ।

उहाँले कर्मचारी व्यवस्थापनका लागि अब बैशाखदेखि लोकसेवा आयोगबाट नियुक्त भएर फ्रेस कर्मचारीहरु आउने र ज्यालादारी, करारका अस्थायी कर्मचारीहरु स्वत हट्नु पर्ने जानकारी पनि गराउनु भयो ।

नगरप्रमुख बुढाथोकीले २०५४ साल यता मेचीनगरमा इतिहासमा नै पहिलो पटक केन्द्र र प्रदेश सरकारबाट विभिन्न शीर्षकको योजनामा करिव ६० करोडको बजेट ल्याएको दावी गर्नुभयो ।

उहाँले लामो प्रयत्न गरेर यत्रो बजेट ल्याउन सफल भइयो तर, गत भदौ २३ र २४ गतेको क्रुर आतंककारी घटनापछि करिव ३२ करोड बजेट रोकिएको पनि सुनाउनु भयो ।

‘बजेटको सीमितता छ, माग बढी छ’ नगर प्रमुख बुढाथोकीले भन्नुभयो ‘तर पनि कामको आधारमा वर्षैपिछे योजनाहरु फरफारक गर्दै जानेछौं । विगतमा जस्तो अ.ल्या र बेरुजु नहुने गरी अब थोरै काम गर्ने राम्रो गर्ने गरी अघि बढिरहेका छौं ।’

नगरप्रमुख बुढाथोकीले राष्ट्रिय आवास कम्पनीसँगको जग्गाको समस्या अन्तिम किनारामा पुर्याउने गरी छलफल हुने पनि स्मरण गर्नुभयो ।

ज्यामिरगढीको झोलुङ्गे पूल, अन्य झोलुङ्गे पूललाई केन्द्रमा पहल गरिने, नगरमा शवदाह गृह निर्माण गरिने, हात्तीबाट मानवीय क्षति हुन नदिन बीमाको व्यवस्था, एउटा वडाबाट भए पनि अनलाइनबाट भुक्तानी लगायतका सेवा, सीप विकास केन्द्र परिसरमा अटिजमको भवन बनाउने, यसै वर्षदेखि योजना छानेर बहुवर्षिय सडक बनाउने गरीको तयारी गरिने नगरप्रमुख बुढाथोकीले भावी योजना र कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले राखेका प्रस्तावहरु माथि ८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु हरिनारायण न्यौपाने, रञ्जिता नेपाली, श्याम शिवाकोटी, विष्णु भट्टराई लगायतले सुझावसहित धारणा राख्नु भएको थियो ।

सम्बन्धित खबर