
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गर्नुभएकाृे छ ।
बुधबार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरुलाई आव्हान पनि गर्नुभएको छ ।
पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २ हजार ४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको पनि सार्वजनिक गर्नुभएको छ ।
‘विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो। तसर्थः केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौँ तर केन्द्रीय कार्यसमितिबाट यो संभव हुन सकेन’ विज्ञप्तिमा भनिएको छ, ‘विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली काँग्रेसको बिधानले गरेको छैन। विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन। यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसिमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक पटक राखेका हौं । बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ ।’
हेर्नोस् विज्ञप्ति :




