
मेचीनगर । आजदेखि मेचीनगरमा व्यवसायीहरुको ढक, तराजु नाप्ने–तौलने उपकरणहरुको परीक्षण, जाँच, नवीकरण, अनुमति पत्र वितरणका लागि डोर टोली खटिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा मेची उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्रका पाँच ठाउँमा बुधबारदेखि डोर टोली खटाएको हो ।
पुस २९ गतेसम्म सञ्चालन हुने डोर टोलीको पहिलो दिन आज मेचीनगर–६, काँकरभिट्टास्थित होटल बोर्डरल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।
संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले डोर टोलीबाट आज काँकरभिट्टाका ४२ जना व्यवसायीले सेवा लिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यवसायीहरुले काँटा, ढक, तराजु, लिटर, मिटर जाँच गराएर नवीकरण र अनुमतिपत्र लिएका हुन् । ४२ जनमध्ये ३३ जना व्यवसायी सदस्यहरुले डोर टोलीबाटै स्थलगत नविकरण गरेको उहाँले बताउनु भयो ।

डोर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अमितकुमार कर्ण, सिनियर मिस्त्रीद्वय हरेराम महतो र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे, संघका कर्मचारीहरु सहभागी रहेका छन् ।
भोलि बिहीबार मेचीनगर–७, ईटाभट्टास्थित अधिकारी किराना अगाडि डोर टोली खटिने बस्नेतको भनाई छ ।
व्यवसायीको सहजताका लागि पुस २५ गते संघको सचिवालय धुलाबारीमा, पुस २८ गते धाइजन मोडस्थित अधिकारी एग्रो भेट्स छेउ र पुस २९ गते चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स अगाडि डोर टोली खटिने संघले जनाएको छ ।


