२०८२ पौष २४ बिहिवार , १२:०३:५१ बजे

Sajhamanch
'

किमाथाङ्का अरुण जलविद्युत् आयोजना स्वदेशी पूँजीमा बन्ने, लगानी मोडालिटी तयार

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । किमाथाङ्का अरुण जलविद्युत् आयोजना स्वदेशी पूँजीमा निर्माण हुने भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका—२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरि लगानी ढाँचा–मोडालिटी तयार भएको छ ।

निर्माण अवधिको ब्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको बिजुली उत्पादन कम्पनी आफैँले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाउने गरि वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निष्कासन गरि सङ्कलन गरिनेछ । किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माणमा ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।

आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि झन्डै ४५ करोड रुपैयाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक रूपमा २ अर्ब ६९ करोड युनिट बिजुली उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमशः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । बिजुली बिक्रीबाट वर्षेनि १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ ।

बिजुली उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०/१०, नागरिक लगानी कोषको ५, एचआईडीसीएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत शेयर छुट्याइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिँदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी त्यही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

बिजुली उत्पादन कम्पनीसँग विद्युत् आयोजनाहरूको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालीन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैँले बनाउनुपर्ने बताउनुभयो ।

घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरि पेश गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित खबर