
काठमाडौं । बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलस्थित सञ्चयकोष अगाडिबाट पक्राउ गरेको हो ।
उनीहरूले १२ पुसको राति बा २ ख २३२७ नम्बरको ट्याक्सीमा दुई जना बालिकालाई लिएर जान लागेको अवस्थामा प्रहरीले ती बालिकाको उद्धार गरेको थियो ।
बालिकाहरूमाथि सोधपुछ गर्दा उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोटो समेत देखाएर रकमको मोलमोलाई समेत गरेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये लक्ष्मणविरुद्ध ३० असोज २०७३ मा दोलखामा कर्तव्य ज्यान कसुरको मुद्दा दर्ता भएको समेत पाइएको प्रहरीले बताएको छ ।


