२०८२ पौष २३ बुधवार , १०:००:३० बजे

Sajhamanch
'

एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप नामको मोबाइल एपका माध्यमबाट ठगी गरेको अभियोगमा एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

उनीहरूले सामाजिक सञ्जाल र अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइ गर्न सकिने प्रलोभन देखाउँदै एसएमसी एप डाउनलोड गराएर मोटो रकम असुली गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो समूहले ७ हजार जनाबाट १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले चितवनको खैरहनीमा कार्यालय नै स्थापना गरेको थियो ।

उनीहरुले विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने लोभ देखाएर मानिसहरूलाई ‘एसएमसी’ एपमा लगानी गर्न बाध्य पार्थे ।

साइबर ब्युरोले थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र ‘मनी म्युल’ नबन्न सचेत गराएको छ ।

प्रहरीले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता भ्रामक विज्ञापनको पछि नलाग्न र कुनै पनि अनलाइन व्यवसायमा जोडिनुअघि त्यसको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ ।

यदि कसैले यस्ता एप वा अनलाइन टास्कमार्फत ठगी गरेको भए तुरुन्त प्रमाणसहित प्रहरीमा उजुरी दिन समेत ब्युरोले आग्रह गरेको छ ।

सम्बन्धित खबर