२०८२ पौष २३ बुधवार , ०९:४७:१४ बजे

Sajhamanch
'

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

मङ्गलवार, पौष २२, २०८२

धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान लम्कीचुहा नगरपालिका-१ को लम्की चोकबाट रूपन्देहीको मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

सोमबार नै गोप्य सूचनाका आधारमा भजनी नगरपालिका–३ कुसमघाटबाट टिकापुर नगरपालिका–२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह र लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय श्याम बमलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । दुवै जनालाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने १९ वर्षीय नवीन सुनारलाई पनि पक्राउ गरिएको छ । उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।

सोमबार साँझ धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट २५ वर्षीय राजकुमार रानालाई ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका-३ चौराहाबाट २७ वर्षीय किसनलाल गुप्तालाई एक ग्राम १३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर