
काठमाडौं । चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट चुनावको समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्थाबमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक एवम् निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बैठक बसेको थियो ।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्त्वपूर्ण भएको र आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने बताउनुभयो ।
उहाँले आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
अनुगमन समितिका संयोजक जबराले विगतका कमजोरीलाई सुधार गरी यसपटकको चुनावमा आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।


