
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक प्रेस क्लबले तयारी अन्तिम चरण रहेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमार्फत प्रेस क्लब मेचीनगरले मिडिया कपलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न आधा दर्जनभन्दा बढी संघ–संस्थासँग सहकार्य भइसकेको जानकारी दिएको छ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलका अनुसार पुस १५ गतेसम्म विभिन्न संघ–संस्थासँग औपचारिक सम्झौता सम्पन्न भइसकेको छ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहित महासंघ झापा शाखाका पूर्व अध्यक्षहरू तथा अग्रज पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष पौडेलले मिडिया कपले नेपाल र भारतबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
क्लबका सचिव प्रविण अधिकारीले सञ्चालन गर्नुभएको सो संक्षिप्त कार्यक्रमका बीच आयोजकले दुई भारतीय टिमसहित झापाका ६ वटा प्रेस क्लबको सहभागितामा पुष २७ र २८ गते मिडिया कप सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।


