
काठमाडौं । देशका सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ ।
गएको भदौ ८ गते विराटनगरमा परीक्षण गरेर शुरू भएको यो प्रणाली वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार, त्रिभुवन विमानस्थललगायतका कार्यालयमा लागू भएको थियो ।
बाँकी रहेका १८ वटा भन्सार कार्यालयमा हिजोदेखि एकैसाथ कार्यान्वयनमा आएको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रणालीले भन्सार विन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरू जोडेर मूल्य तय गर्नेछ । यसअघि सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरू प्रस्तुत हुने गरेका थिए ।
सन्दर्भ मूल्यमा कुनै पनि वस्तुको मूल्य मिल्छ भने त्यसमा खोजी गरिँदैन थियो । तर अब यो प्रणाली लागू भएपछि स्वतः व्यवसायीलाई इमानदार बन्न दबाव सिर्जना भएको छ ।
भण्डारीका अनुसार निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । अनलाइन डाटाबेस प्रणालीलाई विश्व व्यापार सङ्गठनले मान्यता दिएको हुँदा यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यून बिजकीकरण गरि बढी पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।


