
काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीमा लाखौंको धनमालको क्षति भएको छ । आइतबार पर्सा, पाँचथर र झापामा आगलागीका घटना भएका छन् ।
पर्साको धोबिनी गाउँपालिका-३ हरिहरपुरका उपेन्द्र गिरीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख १२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ खेसनखोपाका बलबहादुर राईको घरमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका होममनि बस्नेतको गोठमा आइतबार साँझ आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।


