
खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनु भएको छ । वि.सं. २०१३ फागुन–७ गते जन्मेका उनले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभयो ।
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उहाँले बताउनु भयो । ‘म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ ।
उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरेँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।’
घर छाडेको ५६ वर्षपछि जिल्ला फर्केका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ ।
झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताउनु भयो ।
आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहादुरले बताउनु भयो ।


