
काठमाडौं । प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो ।
दलहरुले १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा आफ्नो तर्फबाट एकल र केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । प्रत्यक्षतर्फ आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव चिन्ह दिने कार्यतालिका छ ।
यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगले गएको बुधवारदेखि हिजोसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरेको हो । रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई जानकारी गराइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइएको छ । आजदेखि आउँदो आइतवारसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई आयोगले सार्वजनिक गर्ने छ ।


