
झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले गरेको निर्णयको स्वागत गरेको छ ।
आज सम्पन्न कांग्रेस झापाको पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी केन्द्रीय कार्य सम्पादन समितिले क्रियाशिल सदस्यता सम्बन्धी तहगत सम्पूर्ण कार्य टुङ्ग्याउन भनी गरेको परिपत्र अनुसार उक्त कार्य निर्धारित समयमै सम्पन्न गर्ने÷गराउने कुरामा प्रतिबद्ध रहेको जनाइएको छ ।
सभापति देउकुमार थेवेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मिति २०८२/०८/१५ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयद्वारा नियमित (१५औं) महाधिवेशनको कार्यतालिका प्रकाशन भैसकेपछि विशेष महाधिवेशनको औचित्य सोही मितिमै स्वतः समाप्त भएको केन्द्रीय कार्यालयको मिति २०८२/०९/१८ को परिपत्रले स्पष्ट पारिसकेको अवस्था पार्टीको तहगत इकाई र नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण शुभेच्छुक, समर्थक, शुभचिन्तक मतदाताहरुमा विदितै छ ।’
आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई विजयी गराई पार्टीलाई बहुमतसहित संसदमा पुर्याउने कार्यमा एकजुट हुन आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ– ‘कांग्रेस अहिले फुटको मानसिकता लिएर होइन, जुटेर निर्वाचनमा होमिनु परेको छ । देशको आवश्यकता र जनताको चाहना पनि नेपाली कांग्रेस पार्टीको एकमना एकता नै हो भन्ने विषयमा दुइमत छैन ।’
पार्टीको आन्तरिक जीवनका विषयमा आ–आफ्नो धारणा रहेको भए तापनि आम चुनावलाई असर पर्ने र आम नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको बीचमा फाटो, अन्यौल, भ्रम र द्विविधा हुने कुनै गतिविधिमा संलग्न नहुन आग्रह गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘अटुट एकताका साथ आम चुनावमा नेपाली कांग्रेसको पक्षमा जनलहर ल्याउने र पार्टीलाई विजयी गराउने कार्यमा आ–आफ्नो स्थानबाट विशिस्ट योगदान पुर्याउन नेपाली कांग्रेस झापा सबै तहका नेता÷कार्यकर्ता र सम्पूर्ण लोकतन्त्रवादीहरुमा हार्दिक अपिल गर्दछ ।’



