
कनकाई । तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरणसमेत भोगेका आदिवासी नेता तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार प्रतिष्ठान परिसर कनकाईमा आयोजित २९औं स्मृति सभाका प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमहरुको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राख्नुभयो ।

अर्का वक्ता राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व. हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको कृतिलाई अमर बनाइराख्न प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो । प्रतिष्ठानको गतिविधि र भावी कार्यक्रमको बारेमा जानकारी गराउँदै भवन निर्माण कार्य समाप्त भइसकेपछि यसको ब्यवस्थापनको जिम्मेवारी समुदायमै हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा स्व. हेमरमका नाति सुन्दरले बाजेको योगदानको स्मरण गर्दै परिवारको तर्फबाट सुझाव प्रस्तुत गर्नुभएको थियो भने स्व. तुर्साको जीवनी वाचन सदस्य शिवकुमार कंडेलले गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष टिका मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गर्नुभएको थियो ।


