२०८२ पौष २१ सोमवार , ०८:०७:२६ बजे

Sajhamanch
'

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गयो

आइतवार, पौष २०, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा–६ चन्द्रसुर्य टोलमा शनिबार साँझ को.३४ प ६४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमका २५ वर्षीय सुभाष श्रेष्ठको मृत्यु भएको हो।

यस्तै, चितवनको भरतपुर–२ शहीदचोकमा रोकिएको मिनी भ्यानमा मोटरसाइकल ठोक्किँदा लंकु बस्ने ३४ वर्षीय अबिद हुसेनको ज्यान गएको छ। सिन्धुपाल्चोकको मेलम्चीमा पनि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा हेलम्बु–७ का ३१ वर्षीय दीपक पण्डितको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

नवलपरासी पूर्वको गैंडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय पैदलयात्री यमनाथ पौडेलको मृत्यु भएको छ भने रोल्पाको सुनछहरी गाउँपालिका–१ मा बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १२ वर्षीय सुनिल विक र १२ वर्षीया दीपा पुनको ज्यान गएको छ। सोही दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

यसैगरी, रूपन्देहीको तिलोत्तमा–१ वनबाटिकामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक २५ वर्षीय अनुभवको मृत्यु भएको छ। सबै घटनाका सम्बन्धमा प्रहरीले चालकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खबर