
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
कुल १६१ किलोमिटर लामो नयाँ बुटवल लमही प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि लाइन निर्माण गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले आयोजना कार्यान्वयन गर्न लागेको जनाएको छ । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवम् सल्लाह दिन आग्रह समेत गरिएको छ ।
कुल चार सय केभी क्षमताको यो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहनेगरी क्षेत्राधिकार तोकिएको छ । नयाँ बुटवल लमही प्रसारण लाइनमा कुल चार सय पाँचवटा टावर रहनेछन् ।
यस्तै, दाङको लमही नगरपालिका वडा ९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्छ भनेर एकिन गर्न लागिएको सूचनामा जनाएको छ ।


