२०८२ पौष २१ सोमवार , १०:४७:४० बजे

Sajhamanch
'

शीतलहरले सुनसरी–मोरङको जनजीवन प्रभावित

आइतवार, पौष २०, २०८२

सुनसरी । सुनसरी र मोरङमा शीतलहर सुरू भएसँगै जनजीवन प्रभावित बनेको छ । शनिबार बेलुकादेखि सुरु भएको शीतलहर र बाक्लो हुस्सुका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाउन अनुरोध गरेको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दिपक गिरीले शीतलहरसँगै बाक्लो हुस्सुका कारण बाटो देख्न कठिनाइ हुने भएकाले सवारी साधनको लाइट बालेर सतर्कतापूर्वक मात्र सवारी चलाउन आग्रह गर्नु भएको छ।

शीतलहरका कारण सुनसरीको इटहरी, तरहरा, इनरुवा, दुहबी, झुम्का, खनार लगायतका स्थानमा जनजीवन प्रभावित भएको छ । त्यसैगरी, मोरङको विराटनगरमा पनि शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । विराटनगर विमानस्थल बाक्लो हुस्सुले ढाकिएपछि आइतबार हुने उडानहरू प्रभावित भएका छन् ।

मोरङको रतुवामाई, सुन्दरहरैँचा, बुढीगंगा र रंगेली लगायतका क्षेत्र शीतलहरको जोखिममा परेका छन् । चिसो अत्यधिक बढेपछि मोरङको रतुवामाई नगरपालिका–७ स्थित विपन्न बस्तीमा दाउरा वितरण गरिएको छ । वडा कार्यालयको पहलमा पथरी शनिश्चरे साझेदारी वन समूहको सहयोगमा वडा भित्रका विभिन्न टोलबस्ती,चोक तथा बजार क्षेत्रमा दाउरा वितरण गरिएको छ ।

जाडोका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएपछि विपन्न,ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो बनाउने उद्देश्यले दाउरा वितरण गरिएको वडा अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले वडा भित्रका १५ वटा सार्वजनिक स्थानमा सामूहिक रूपमा आगो बालेर ताप्न तथा जाडोबाट बच्न सकिने व्यवस्था मिलाइएको बताए ।

सम्बन्धित खबर