
मेचीनगर । छुर्पी व्यवसायी संघको वार्षिक साधारण सभा झापाको धुलाबारीमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायत वक्ताहरुले वर्तमान काम चलाउ सरकार र मुल राजनीतिक दलहरु सही दिशामा नभएकोले कर, भ्याट, भन्सार लगायत व्यवसायीका विभिन्न समस्याहरु सुनवाई नभएको आरोप लगाए ।
महासंघमा आवद्व छुर्पी लगायतका १८ वटा संघ–संस्थाहरुलाई अदालतले महासंघको सदस्य बन्न रोकेको जनाउँदै वक्ताहरुले ती संस्थाहरुलाई चुनाव अगावै सदस्यताको विषय समाधान गरेर जाने दावी पनि गरेका छन् ।
छुर्पी व्यवसायी संघलाई सरकारले उत्कृष्ट निर्यात व्यवसायी भनेर सीआईपीको मान्यता समेत दिएको छ । संघका अध्यक्ष रेशमबहादुर पोखरेलले पशुको आहारका रुपमा अमेरिकामा हिमालयन डगच्यूका छुर्पी परिचित रहेको बताए । अमेरिकामा कुकुरलाई खुवाउन छुर्पी प्रयोग गरिन्छ । यसको माग अमेरिका लगायत युरोपका देशहरुमा बढी छ ।
उनका अनुसार नयाँ उत्पादनका रुपमा डगच्यु विदेश निर्यात हुने पहिलो व्यवसाय हो । वार्षिक ५ अर्ब रुपैयाँको छुर्पी निर्यात हुने गरेको छ । कोशी प्रदेशमा नै ८० प्रतिशत दुधजन्य पदार्थबाट छुर्पी लगायत खाद्य सामग्री उत्पादन हुने सो अवसरमा बताइयो ।
अध्यक्ष पोखरेलले युरोप, चीन, भारत लगायतका देशहरुमा पनि डगच्यू पठाउने तयारी गरिरहेको जानकारी दिए ।
छुर्पी व्यवसायी संघका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले र सहजीकरण मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।
उक्त साधारण सभामा आगामी चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उम्मेद्वार बन्ने व्यवसायी नेताहरुले घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल वरिष्ठ उपाध्यक्षको दावेदार रहेको बताए ।
सो कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले उम्मेद्वारी घोषणा गरे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले फेरि त्यही पदमा दोहोर्याउने, केन्द्रीय सदस्यद्वय नरेन्द्रकुमार खड्का र उमेश डालमियाले उपाध्यक्ष पदमा, केन्द्रीय सदस्य कमला श्रेष्ठले महिला उपाध्यक्षमा, केन्द्रीय सदस्य लिलेन्द्र प्रधानले फेरि त्यही पदमा दोहोर्याउने, कार्गो व्यवसायी संघका अध्यक्ष राजेन्द्र संग्रौलाले केन्द्रीय सदस्यमा, छुर्पी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत उपाध्यक्षमा उम्मेद्वार दिने घोषणा गरेका थिए ।


