
झापा । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले पनि उम्मेदवारहरु सिफारिस गर्न थालेको छ ।
वर्तमान सरकार असंवैधानिक ठहर गर्दै यसले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै संसद पुनःस्थापनाको मुद्धा दर्ता गराएको एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।
नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।
यस्तै, झापा क्षेत्र नं. ३ को क्षेत्रीय समन्वय कमिटीको बैठकले केन्द्रीय सदस्य दिपक कार्की, पूर्व केन्द्रीय सदस्य हरिबहादुर राजवंशी, कोशी प्रदेशसभाका पूर्व सदस्य बसन्त बानियाँसहित ५ जनाको नाम सिफारिस गरेको जिल्ला सदस्य नरेश चुडालले जानकारी दिनुभएको छ ।
इलाम २ बाट सुहाङ

यसैगरी, इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ । पार्टीको शनिबार बसेको जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो ।
सुहाङ एमालेका केन्द्रीय सदस्य हुन् । गत २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको थियो ।
त्यतिबेला कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि २७ हजार ७७२ मतसहित सुहाङ विजयी बन्नु भएको थियो ।


