
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।
रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार यात्रुहरु मध्ये ७ जना घाइते भएका र अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । जहाजमा ४ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए।
भद्रपुर विमानस्थलमा अवतरण भर्ने क्रममा जहाज रनवेमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूका अनुसार बुद्ध एयरको विमान रनवेको बीच भागमा अवतरण हुँदा चिप्लिएर घाँस मैदानमा पुगेको हो ।
विमानले सुरुमै रनवे छुन सकेन । बीच भागमा ल्यान्ड गर्यो । ‘ओभर सुट हुन अवस्था पनि भएन र पाइलटले ब्रेक लगाउँदा लगाउँदै पनि रनवे छाडेर घाँस मैदानमा विमान पुग्यो’ एसपी लिम्बूको भनाई छ । विमानमा आगो नलागेको कारण ठूलो मानवीय क्षति हुनबाट जोगेको उहाँको भनाई छ ।
एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। बुद्ध एयरको दुर्घटनापछि काठमाडौँ उड्न लागेको यति एयरको जहाज समेत भद्रपुर विमानस्थलमा अड्किएको छ। घटना लगत्तै बुद्ध एयरले सूचना जारी गरेर प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ।
रनवेबाट चिप्लिएर विमान दुर्घटना हुँदा को–पाईलटसहित सात जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भएको र केहीको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नामावली :
१. जिल्ला झापा भद्रपुर न. पा. १० बस्ने वर्ष ४० को सबिन जोगी छाती, कम्मर, ढाड दुखेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
२. जिल्ला झापा बिर्तामोड न. पा. ७ बस्ने वर्ष २० की प्रेसिषा अधिकारी बायाँ खुट्टा सुन्निएको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
३. जिल्ला झापा बिर्तामोड न. पा. १ बस्ने वर्ष ४२ की सुमित्र जोगी बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
४. जिल्ला झापा दमक न. पा. १ बस्ने वर्ष २८ को कमलप्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट (उपचार पछि डिस्चार्ज भई गएको, यात्रु)
५. जिल्ला काठमाण्डौ काठमाण्डौ म. न. पा. १६ बस्ने वर्ष ४० की मुना घतानी बाहिरी चोट नभएको, टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य (यात्रु)
६. जिल्ला काठमाण्डौ काठमाण्डौ म. न. पा. १६ बस्ने वर्ष १६ की प्रिया घतानी दाहिने घुडामा चोट अवस्था सामान्य (यात्रु)
७. जिल्ला ललितपुर ललितपुर म. न. पा. ४ बस्ने वर्ष २४ को सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य (को–पाईलट) ।


