
शिवसताक्षी । झापाको दूधेस्थित श्री सतासी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौषम लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको छ ।
नेपाल एसबीआई बैंक दूधे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा र नेपाल एसबीआई बैंक दूधे शाखाका प्रमुख उत्सव आचार्यले संयुक्त रूपमा विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गर्नुभएको हो ।
कपडा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले दूधेमा स्थापना भएको छोटो समयमै नेपाल एसबीआई बैंकले वित्तीय सेवा विस्तारसँगै सामाजिक कार्यमा सक्रियता देखाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सतासी प्राथमिक विद्यालय आफूले अध्ययन प्रारम्भ गरेको विद्यालय भएको स्मरण गर्दै बैंकले यही विद्यालय छनोट गरी विद्यार्थीलाई जाडोमा विद्यालय आउन सहज वातावरण सिर्जना गरेकोमा प्रशंसा पनि गर्नुभयो । “यो सानो प्रयास भए पनि यसको प्रभाव ठूलो र प्रेरणादायी छ” उहाँको भनाई थियो ।

त्यसैगरी, बैंकका शाखा प्रमुख उत्सव आचार्यले नयाँ शाखा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चिसो मौसममा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
बैंकले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई खाजाको समेत व्यवस्था गरेको थियो ।
शिक्षक–अभिभावक संघका अध्यक्ष अम्बरबहादुर योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र विकले सञ्चालन गर्नुभएको थियो ।


