
बिर्तामोड । उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो ।
२०७५ साल असोज १६ गते झापा इनर्जी लिमिटेडको स्थापना भएको थियो । झापाको शिवसताक्षी–४ स्थित बुलुचोकमा १० मेघावाटको सौर्य उर्जा अर्थात सोलार परियोजनाको निर्माण कार्यका लागि २०७८ मंसीर १२ गते झापा इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच बिद्युत खरिद बिक्री गर्ने सम्झौता भएको थियो ।
झापा इनर्जीले शिवसताक्षी–४ मा १० बिघा १७ कठ्ठा १८.५ धुर जग्गा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिगा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेर आयोजना निर्माण कार्य शुरु गरेको थियो ।

२०८० माघ १० गतेदेखि सोलार इनर्जीको व्यवसायिक उत्पादन शुरु गरी उत्पादित बिद्युत शक्ति नेपाल बिद्युत प्राधिकरणलाई बिक्री गर्दै आइरहेको प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको बिद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइन मार्फत दमक वितरण केन्द्र अन्तरगतको बुलुचोक सव स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
आयोजनाले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत प्राधिकरणलाई बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
त्यसैगरी २०८२ साउन १ गतेदेखि मंसीर मसान्तसम्ममा ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष साँवाद्वारा सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
झापा इनर्जीले पहिलो पटक ९ लाख ५० हजार ४७५ किता आइपिओ निश्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय कासिन्दाका लागि ३ लाख ८० हजार १९० किता साधारण शेयर, विदेशमा भएकाहरुका लागि ५७ हजार २९ कित्ता, कम्पनीका कर्मचारीहरुलाई ११ हजार ४०६ कित्ता र बाँकी ४ लाख ७३ हजार ३३६ किता सर्वसाधारणका लागि शेयर निश्कासन गरेको अध्यक्ष साँवाद्वार प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीका सञ्चालक, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईले साधारण सभा समारोहमा उपस्थित शेयरधनीहरुलाई शाब्दिक स्वागतसहित औचित्य माथि प्रकाश पार्नुभएको थियो भने राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण कम्पनीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा कम्पनीका सञ्चालक सिराज शर्मा शिवाकोटी, रामचन्द्र उप्रेती, नरहरि फुयाँल, दिपेन्द्र प्रसाई, कम्पनीका महाप्रवन्धक सरोज श्रेष्ठ, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको आतिथ्य रहेको थियो भने शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति थियो ।
https://www.facebook.com/share/v/1DxdRv2UAC/


