२०८२ पौष १८ शुक्रवार , ०५:००:३७ बजे

Sajhamanch
'

विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती : गृहमन्त्री

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्या‍प्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ।

शुक्रबार २८औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री अर्यालले यस्तो बताउनु भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा गृहमन्त्री अर्यालले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु नहुने बताउनु भयो ।

यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने, दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्दै लाग्नु पर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गरेको छ।

भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिलाई स्पष्ट निर्देशन दिनुहुँदै, मन्त्री अर्यालले भन्नुभयो, ‘हाम्रा कार्यक्रमहरू परिणाममुखी होस् भाषणमुखी होइन, व्यवहार परिवर्तनमा केन्द्रित होस् । विद्यालय र युवालाई केन्द्रमा राखियोस्, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ । स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस्।’

भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) हरुलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

भूकम्प र अन्य विपद्‍बाट बच्न भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।

भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयंको भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव छैन।’

गृहमन्त्री अर्यालले अगाडि भन्नुभयो, ‘हाम्रा पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट हाम्रो जोखिमलाई धेरै कम गर्न सकिने भएकोले सुरक्षित,सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा संकल्पको खाँचो छ।’

यस्तै, बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी’ भन्ने तय गर्दै पारित गरिएको छ ।

यस्तै बैठकले २ माघमा मनाइने मूल समारोहको कार्यकमको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री सुशीला कार्कीलाई आमन्त्रण गर्ने प्रस्ताव बैठकले पारित गरेको छ।

सम्बन्धित खबर