
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेका राजनीतिक दललाई पालैपालो बोलाएर त्रुटिबारे छलफल गरिरहेको छ ।
छलफलपछि देखिएका कमजोरी सच्याएर पेश गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समावेशीको समूह मिलाए/नमिलाएको लगायत विवरण जाँच गरि सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको हो । उहाँले हिजो १२ दलका प्रतिनिधिसँग छलफल भएको र आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिनुभयो ।
६४ राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । त्यसमध्ये २२ दलले मात्रै ११० वटै ठाउँमा उम्मेदवारी मनोनयन गरेका छन् । आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेश भएको विवरण मिलाउन दललाई समय दिनेछ । दलले मिलाएको बन्दसूची जाँच गरि आउँदो माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर चर्को विवाद र आलोचना भइरहेको छ । केही दलले सच्याउने बताएका छन् । तर आयोगले नाम हेरफेर गर्न नमिल्ने, सच्याउन मात्रै मिल्ने बताएको छ । बन्दसूचीमा रहेका उम्मेदवारले नै नाम फिर्ता लिन चाहेमा उसको सट्टा अर्को नाम राख्न पाउने व्यवस्था भने रहेको छ ।


