
काठमाडौं । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्ने क्रम पनि बढेको छ ।
त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत जाने सम्भावना हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
शुरूमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताउनुभयो । त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ । प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ ।


