
मुस्ताङ । मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
सन् २०२५ मा समग्रमा अघिल्लो वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन बढेको हो । जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म कूल एक लाख ६१ हजार १२२ जना बाह्य पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।
गएको वर्ष त्यहाँ जाने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य देशबाट २८ हजार २ ७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य देशबाट २६ हजार १७० जना बाह्य पर्यटक यहाँ आएको तथ्याङ्क छ ।
एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य देशबाट दुई हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या बढेको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य देशतर्फ ७ दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या बढेको हो ।
हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको बाह्य पर्यटकको सङ्ख्या बढ्न नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ ।
सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो ।
युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना बाह्य पर्यटक घटेका जनाइएको छ ।


