२०८२ पौष १७ बिहिवार , १२:५४:२३ बजे

Sajhamanch
'

बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा सहज रूपमा गाडी चल्न थाले

बिहिवार, पौष १७, २०८२

काठमाडौं । शीतका कारण सडक भिजेर हिलो भएपछि गाडी चलाउन समस्या भएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा हिजो दिउँसोदेखि सहज रूपमा गाडी चल्न थालेका छन् ।

तीन दिनदेखि सडक चिप्लो भएपछि गाडी चल्न सकेका थिएनन् । जसका कारण लामो जाम भएको थियो । यात्रुहरूले झन्डै ३०–३२ घण्टा जाममा बस्नुपर्ने अवस्था थियो ।

दाउन्ने प्रहरी चौकीका अनुसार अहिले दुईतर्फी रूपमा सहजै गाडी चल्न थालेका छन् । सडक खण्ड निर्माणाधीन रहेकोले शीत धेरै परेको बेला ठूला र मालबाहक गाडी उकालो चढ्न समस्या हुने गरेको छ ।

दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्र मात्रै पार गर्न पनि ५ देखि ६ घण्टा लाग्ने गरेको छ । बुटवल–नारायणगढ सडकखण्ड १७० किलोमिटर छ । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा सहज यात्रा गर्ने गरी अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । शीतका कारण सडक चिप्लो हुँदा गाडी चलाउन समस्या हुँदै आएकोमा गिट्टी राखिएको छ ।

यसैबीच नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको छ । सडकखण्डमा आवश्यक मर्मतसम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक गाडी बाहेक अन्य गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । साथै गाडी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।

सडकको केही ठाउँमा कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले एकतर्फी सडक सञ्चालन हुँदै आएको छ । यो सडकको वैकल्पिक सडकको रूपमा पूर्व–पश्चिम राजमार्ग हुँदै आउने र जाने गाडीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल निस्कन अनुरोध गरिएको छ ।

यस्तै कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपलडाँडा हुँदै गाडी चलाउन सकिन्छ । त्यस्तै काठमाण्डौबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाडौं गर्नेले काठमाण्डौ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सकिन्छ ।