२०८२ पौष १५ मङ्गलवार , ०९:१०:०३ बजे

Sajhamanch
'

बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा केदार गिरी मनोनित, डालमियालाई केन्द्रीय उपाध्यक्षमा सिफारिस

मङ्गलवार, पौष १५, २०८२

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन्।

संघको आज बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो। बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ अन्तर्गत दफा २९.१ को उपदफा ‘क’ बमोजिम सल्लाहकारमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।

विधानअनुसार संघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्न पाउने व्यवस्था छ। सोही प्रावधानअनुसार गिरीलाई सल्लाहकार समितिमा समेटिएको अध्यक्ष न्यौपानेले बताए।

कञ्चन निर्माण सेवाका सञ्चालक गिरी झापाका स्थापित व्यवसायी हुन्। उद्योगी व्यवसायीको हकहित तथा संरक्षणका क्षेत्रमा उनको भूमिका प्रभावकारी रहने अपेक्षा गरिएको छ।

सोही बैठकले नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने अधिवेशनमा झापाका व्यवसायी उमेश डालमियालाई केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । हाल महासंघका कार्यकारिणी सदस्य रहेका डालमिया महासंघअन्तर्गत मेला समिति संयोजकको जिम्मेवारीमा छन् ।

उनको उम्मेदवारीलाई समर्थन गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले केन्द्रीय उपाध्यक्षका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६–२०५८ सम्म अध्यक्ष रहिसकेका छन् । उनी झापा उद्योग वाणिज्य संघको अध्यक्षसमेत रहिसकेका अनुभवी उद्योगी व्यवसायी हुन् ।

महासंघको नेतृत्वमा उनको सक्रिय भूमिकाले उद्योगी व्यवसायीको हकहित र संगठन सुदृढीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आसन्न निर्वाचनमा महासंघमा आवद्ध देशभरका १२९ संस्थाका अध्यक्षले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर