२०८२ पौष १५ मङ्गलवार , १२:४८:०३ बजे

Sajhamanch
'

चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकियो : २५ देखि ३३ लाखसम्मको सीमा

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।

निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।

आयोगका अनुसार काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् ।

यसैगरी, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ सम्मको खर्च गर्न पाउने सीमा तोकेको छ ।

६५ वटा चुनाव क्षेत्रका उम्मेदवारले बढीमा २९ लाख बराबर खर्च गर्न पाउने सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, आयोगका अनुसार १७ वटा चुनाव क्षेत्रका उम्मेदवारले बढीमा २७ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

भट्टराईका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा उम्मेदवारकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी खर्चको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम चुनाव खर्चको विवरण चुनाव परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

सम्बन्धित खबर