२०८२ पौष १३ आइतवार , ०५:३४:१० बजे

Sajhamanch
'

एनभीए भलिबल च्याम्पियनशिपमा महिलातर्फ आर्मी र एपीएफको लगातार दोस्रो जीत

आइतवार, पौष १३, २०८२

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–९ ले जित्यो । प्रतियोगितामा चुलीको यो लगातार दोस्रो हार हो ।

यस्तै महिलातर्फ आजै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–६, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१२ ले जित्यो । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

एनभीए भलिबल च्याम्पियनशिप पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र मणिमुकुन्द भलिबल तथा नेपाल पुलिस क्लब र अर्घाखाँचीको खिल्जी युवा क्लब खेल्दैछन् ।

यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

सम्बन्धित खबर