
मनाङ । हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण चलिरहेको छ ।
राष्ट्रिय प्रकृति कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भू-भागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उहाँले बताउनुभयो ।
मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।
सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो ।
समुद्री सतहबाट झन्डै ३ हजार २०० मिटरदेखि ५ हजार २०० मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताउनुभयो ।
मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न हरेक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।


