
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा साथीको हत्या गरेका युवक ६ मुद्दाका अभियुक्त रहेको खुलेको छ ।
रोल्पाबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइएका दाङको राप्ती गाउँपालिका–१ घर भएका २२ वर्षीय आकाश मगर ६ मुद्दाका अभियुक्त रहेको खुलेको हो । जेनजी आन्दोलनको क्रममा उनी नख्खु कारागारबाट भागेका थिए ।
१३ असोजमा उनले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर सुरज तामाङको हत्या गरेका थिए । आकाशले सुरजलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनै आकाशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गर्दा उनी ६ मुद्दाका अभियुक्त रहेको खुलेको हो ।
पछिल्लो पटक लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेनजीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए ।
उनीविरुद्ध ३ कात्तिक २०७६ मा प्रहरी वृत्त महाराजगञ्जले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
त्यसपछि १६ कात्तिक २०७७ मा प्रहरी वृत्त बालाजुले नै उनीविरुद्ध अभद्रको मुद्दा चलाएको भेटिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताउनु भयो ।
२२ साउन २०८० मा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागु औषधको कसुरमा मुद्दा चलाएको थियो । ३१ भदौ २०८० मा चोरीको कसुरमा प्रहरी वृत्त महाराजगञ्जले नै मुद्दा चलाएको थियो ।
अहिले फेरि उनी साथी हत्याको कसुरमा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई हत्या कसुरमा अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।


