
शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिकाका तीनवटा आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।
संस्थाले कूल १५० जना विद्यार्थीलाई स्वीटर वितरण गरेको हो। धरमपुर साकोसका व्यवस्थापक विनोद ढकालका अनुसार शिवसताक्षी–९ स्थित श्री शिव आधारभूत विद्यालयमा ३७ थान, शिवसताक्षी–६ स्थित श्री गौरीशंकर प्राथमिक विद्यालयमा ५७ थान तथा शिवसताक्षी–५ स्थित श्री बालकल्याण आधारभूत विद्यालयमा ५६ थान स्वीटर वितरण गरिएको छ।
न्यानो कपडा वितरण कार्यक्रम सम्बन्धित वडाका वडाध्यक्षहरू डिल्लीलाल फेम्बु, मनोज खुलाल कार्की र सिकिन पासवानले विद्यार्थीहरूलाई स्वीटर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा धरमपुर साकोसका अध्यक्ष कुमार शंकर, सचिव नारदमणि रिमाल, कोषाध्यक्ष जयकुमारी चेम्जोङ, सदस्यहरू यामकुमार गुरुङ र चक्र माझीको उपस्थिति थियो। साथै सम्बन्धित विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक–अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
सहकारी संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


