
काठमाडौं । सरकारले झन्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले किसानलाई सूचीकृत गरेको हो ।
कृषि जनगणना २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा अहिलेसम्म २३ लाख ८३ हजार किसान सूचीबद्ध भएका केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो ।
सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको अधिकृत पण्डितले बताउनुभयो ।
किसानको वर्गीकरणपछि परिचयपत्र वितरण गर्ने, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ । सरकारले परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित आवश्यक सहायता उपलब्ध गराउने योजना बनाएको छ ।
पालिकासँग समन्वय गरेर किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरेको केन्द्रका अधिकृत पण्डितले बताउनुभयो ।


