२०८२ पौष ९ बुधवार , ०४:०५:५८ बजे

Sajhamanch
'

खोटाङमा ११२ आयोजनाका लागि ठेक्का आह्वान

बुधवार, पौष ९, २०८२

खोटाङ । भौतिक पूर्वाधार कार्यालय, खोटाङले एक सय १२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । गएको कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् ।

कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्नेछ । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ ।

जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउने कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । दश वटा पालिका रहेको खोटाङमा आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारबाट स्वीकृत भएको एक अर्ब बढीका १६४ आयोजना परेका छन् ।

पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन् । कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेश गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालू अवस्थामा रहेका छन् ।

सम्बन्धित खबर