२०८२ पौष ९ बुधवार , ०३:१७:०७ बजे

Sajhamanch
'

चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाका चोकचोकमा दाउरा बाल्न थालियो

बुधवार, पौष ९, २०८२

सिरहा । हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाका चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।

स्थानीयवासीन्दाले बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको छ । लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था शुरु गरेको छ ।

लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत ठाउँमा दाउरा बाल्ने काम थालिएको जानकारी दिनुभयो ।

वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक ठाउँमा दाउरा वितरण गर्ने तथा गरिब तथा विपन्न समुदायलाई लक्षित गरी पाँच सय परिवारलाई सिरक वितरण गर्ने तयारी समेत गरिएको छ ।

निरन्तरको चिसोले विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिनुभयो । त्यसैगरी, डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका १७ वटै पालिकाका जनप्रतिनिधिसँग छलफल भइरहेको र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ ।

सम्बन्धित खबर