२०८२ पौष ७ सोमवार , ०९:४०:१९ बजे

Sajhamanch
'

लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष, उपाध्यक्ष र सचिवमा बस्नेत, पोद्धार र मल्लको ह्याट्रिक

सोमवार, पौष ७, २०८२

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण सभा गरिएको हो ।

सो सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष बस्नेतले र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रोशन दाहालले र वार्षिक बजेट सचिव सन्देश मल्लले प्रस्तुत गर्नुभएको थियो ।

२०५३ साउन ३ गते २८ जनाको सक्रियतामा सुरु गरिएको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा २०८२ असार मसान्तमा ३ हजार १९४ जना शेयर सदस्य रहेका छन् ।

२०७८/०७९ मा ४ हजार ९५ जना शेयर सदस्य रहेकोमा निस्क्रिय सदस्यहरु विदा गर्दै सक्रियमात्र राखिएकोले शेयर पूँजी पनि ३ करोड २६ लाख ६१ हजार ८०० बाट घटेर ३ करोड २१ लाख २९ हजार ६०० कायम भएको जनाइएको छ ।

गत असार मसान्तमा संस्थामा कूल निक्षेप बचत ४१ करोड ९० लाख ६५ हजार ३९१ रुपैयाँ, सदस्यहरुमाझ ऋण लगानीमा रहेको ३७ करोड ८३ लाख ३४ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा वर्षमा संस्थाले ५ करोड ८ लाख ६९ हजार ३६३ रुपैयाँ आम्दानी गरी ३ करोड ८७ लाख ८ हजार ७२२ खर्च भई १ करोड २१ लाख ६० हजार ६४० रुपैयाँ करअघिको नाफा आर्जन गरेको थियो ।

संस्थाले साधारण सभाको अवसरमा गत आर्थिक वर्षमा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने आफ्ना १३ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।

यस्तै उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय भित्रबाट लक्ष्मीदेवी भट्टराई र बजार प्रतिनिधिहरु मध्येबाट वर्षा कार्कीलाई नगदसहित सम्मान गरियो ।

उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनालले आफ्नो संस्थालाई जिल्लाको दोस्रो पुरानो संस्थाका रुपमा परिचय गराउनु भयो ।

‘सहकारी ऐन २०४८ कार्यान्वयनमा आएपछि सबैभन्दा पहिले काँकरभिट्टामा हालको नेपाल बहुउद्देश्यीय सहकारी दर्ता भएर काम गर्न थाल्यो भने सो पछि २०५३ सालमा हाम्रो संस्था स्थापना गरिएको हो’ डा. खनालले सुनाउनु भयो ।

संस्था स्थापनाकालदेखि नै सञ्चालक समितिमा पुस्तान्तरण हुँदै आएको स्मरण गर्नुहुँदै पूर्वअध्यक्ष डा. खनालले कुनै पनि संघ–संस्थाको नेतृत्वमा एकै व्यक्ति लामो समयसम्म टाँसिइरहने प्रवृत्तिको अन्त्य लक्ष्मी बहुउद्देश्यीयबाट नै सुरुवात भएकाले भावी दिनमा पनि यसको सार्थक कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

स्मरण रहोस्, २९औं वार्षिक साधारण सभा संस्थाको नयाँ नेतृत्व चयनको वर्ष पनि हो ।

पूर्व अध्यक्ष डा. खनालले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्ने अफवाहको पछि नलाग्न ऋण कारोबारी सदस्यहरुलाई सुझाव दिनुहुँदै तपाईंले चलाएको ऋण तपाईंजस्तै अरु सय जना शेयर सदस्यले बचत गरेको रकम हो भन्ने कुरामा हेक्का राख्न आग्रह गर्नुभयो ।

अर्का वक्ता निवर्तमान अध्यक्ष चन्द्रकुमार राजभण्डारीले लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु प्रायः सबै बुद्धिजीवीहरु भएकाले तपाईं सदस्यहरुको बचत डुब्दैन, ढुक्क हुनुहोस् भनी विश्वास दिलाउनु भयो ।

संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक दाहालले सञ्चालन गर्नुभएको सो साधारण सभा समारोहमा सदस्यहरुले आफ्ना जिज्ञासा एवम् संस्थाको कामको बारेमा प्रतिक्रिया जनाएका थिए ।

साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक अधिवक्ता देवेन्द्र भण्डारीले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नाम घोषणा गर्दै प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

जसअनुसार संस्थाको अध्यक्ष, उपाध्यक्ष र सचिवमा लीलाबहादुर बस्नेत, भगिरथ पोद्धार र सन्देश मल्लले निरन्तरता पाउनु भएको छ । निवर्तमान सञ्चालक सदस्य सरस्वती भूर्तेल खनाल कोषाध्यक्षमा पदोन्नति हुनुभएको छ ।

यस्तै, निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक रोशन दाहाल र सदस्य लक्ष्मी ढकालले सञ्चालक समिति सदस्यको जिम्मेवारी रोज्नु भएको छ भने निवर्तमान सञ्चालक सदस्य हेमन्त सुवेदीले लेखा सुपरीवेक्षण समिति संयोजकको जिम्मेवारी लिनु भएको छ ।

यसैगरी, सञ्चालक समिति सदस्यहरुमा रमेश थापा मगर र बिक्रम राजभण्डारीले निरन्तरता पाउनु भएको छ भने नारायण ओझा ऋण उपसमिति सदस्यबाट सञ्चालक सदस्यमा प्रवेश गर्नुभएको छ ।

लेखा सुपरीवेक्षण समितिमा प्रेम थापाले सदस्यमा निरन्तरता दिनु भएको छ भने दुर्गादेवी दाहाललाई नयाँ जिम्मेवारी दिइएको छ ।

निवर्तमान सञ्चालक समितिका कोषाध्यक्ष दिपककुमार प्रधान र सञ्चालक सदस्य देवी सापकोटाले जिम्मेवारीबाट विदा लिनुभएको पाइएको छ ।

सम्बन्धित खबर