
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्राश बेरियर’ जडान गरेको छ ।
गुह्येश्वरीबाट ट्राश बेरियर जडान सम्पन्न गरी बाग्मती नदीका पाँच ठाउँ– गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक ठाउँ गरी ६ ठाउँमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ट्राश बेरियर राख्न थालिएको हो ।
शहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्राश बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित ठाउँमा जम्मा गराउने काम गर्दछ ।
काठमाण्डौ उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्राश बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरि फोहर मात्र निकाल्न सकिन्छ । यसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।
ट्राश बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।


