२०८२ पौष ५ शनिवार , ०५:०७:२२ बजे

Sajhamanch
'

बिर्तामोड १ मा टाेलस्तरीय फुटबल सुरु

शनिवार, पौष ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डे र विशिष्ट अतिथि ज्येष्ठ नागरिक पदमप्रसाद प्रसाईंले रेफ्री प्रविन राईलाई फुटबल प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जन-जी आन्दोलनका कारण प्रतियोगिता ढिलो सुरु हुन गएको उल्लेख गर्नुभयो। साथै उहाँले वडा खेलकुद मार्फत व्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न प्रतियोगिता पनि हुने बताउनु भयो ।

साे प्र तियाेगितामा ११ वटा टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गर्ने वडा खेलकुद विकास समितिका सचिव मदनकुमार शिवाकोटीले जानकारी दिनुभयो।

यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही १–१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय र उदियमान खेलाडीलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पञ्चकन्या प्रगति टोलले नमूना टोललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

पञ्चकन्या प्रगति टोलको जितमा अभियान ढुंगेल र आरोग्य बस्नेतले समान १–१ गोल गरे। खेलको म्यान अफ द म्याच अभियान ढुंगेल घोषित भए। उनलाई प्रहरी निरीक्षक ढुण्डीराज गिरीले नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे।

अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।