
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सकिएको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औं वर्ष प्रवेश गरेकाले संस्थाले वार्षिकोत्सवसहित रजत महोत्सव समापन पनि गरेको हो ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित सो कार्यक्रमको पहिलो शत्रमा मन्तब्य राख्दै उहाँले इकाइगत साधारण सभाहरुबाट छलफल गरी तयार गरिएको माइन्युट एकीकृत गरिएकोले छानिएर आएका इकाईगत प्रतिनिधिहरुबाट थप छलफल र काँटछाँट गरी प्रमाणीकरण गरिने बताउनु भयो ।
उहाँले संस्था आजको अवस्थासम्म ल्याइपुर्याउन सेयर सदस्यहरुकै खबरदारी महत्वपूर्ण रहेको जानकारी गराउनु हुँदै सञ्चालक समिति पनि विधि र प्रक्रियाबाट चलिरहेको प्रष्ट पार्नुभयो ।
सहकारीमा मात्र होइन सबैखाले बैंक वित्तीय संस्थाहरुमा बाह्य चुनौतीहरुका चाङ छन् । तर तिनलाई व्यवस्थापन गर्दै कर्णाली साकोस निरन्तर अगाडि बढिरहँदा ऋण लगानी र असुलीको कार्य धिमा गतिमा मात्र चलिरहेको विवरणहरुबाट नै प्रष्ट भइसकेको छ ।
आफ्नो मन्तब्यमा अध्यक्ष प्रधान भन्नुहुन्छ, ‘हामी राज्यका जुनसुकै निकायबाट हुने अनुगमनको स्वागत गर्दछौं, यसबाट भाग्ने गर्दैनौं । किनकि हामीले गलत काम गरेका छैनौं । काम गर्नेक्रममा कुनै गल्ती कमजोरीहरु भएका रहेछन् भने अनुगमनकारी निकायको सुझाबबाट सुधार गर्न तयार छौं ।’
संस्थाका संस्थापक (प्रारम्भिक) ज्येष्ठ सेयर सदस्य जयबहादुर गौतमले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष महेन्द्रप्रसाद चुडाल, लेखा समितिका संयोजक मनकुमार बेघा, ईकाइगत साधारण सभाबाट माइन्युट प्रमाणित गर्न आएका प्रतिनिधिहरु बिमला गौतम भट्टराई र हरिराज भट्टराईले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थाले विभिन्न समस्याहरुको उपचार गराइरहेका आफ्ना ५ जना सदस्यहरुलाई दुई लाख ८०० रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ ।
उपचार सुविधा प्राप्त गर्ने भद्रपुर सेवा केन्द्र अन्तरगतका सेयर सदस्यहरु कल्पना सुब्बालाई ९८ हजार ५००, कुन्ता चापागाईंलाई २१ हजार ६०० र बिर्तामोडको कृषिथोकबजार सेवा केन्द्रकी रञ्जिता लिम्बूलाई ३० हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै सैनिकमोड सेवा केन्द्र अन्तरगतका सदस्य संगीता गुरुङलाई २५ हजार १०० र आशा चौधरीलाई १० हजार ८०० रुपैयाँ प्रदान गरिएको विभागीय अधिकृत मनहरि निरौलाले जानकारी दिनुभयो ।


