
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये धेरैजसोले चुनावमा मतदान गर्न चाहेको बताएका छन् ।
कानून तथा सामाजिक न्यायका लागि नीति मञ्च (ल्याप्सोज) र श्रमिक सञ्जाल काठमाण्डौले गरेको ‘आउट अफ कन्ट्री भोटिङ’ सम्बन्धी धारणा सर्वेक्षणमा ६० प्रतिशतभन्दा धेरैले मतदानको इच्छा व्यक्त गरेका छन् ।
आज सार्वजनिक प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी ६ हजार ४८५ नेपाली श्रमिकमध्ये ६१ प्रतिशत पुरुष र ६८ प्रतिशत महिलाले मतदान गर्ने इच्छा व्यक्त गरेका हुन् ।
यस्तै सर्वेक्षणमा सहभागीमध्ये ९४ प्रतिशतभन्दा धेरैले देशबाहिरबाट मतादन गर्न पाउनु लोकतन्त्रको अनिवार्य अङ्ग भएको बताएका प्रतिवेदनमा भनिएको छ ।
साउदी अरब, कुवेत, मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान र बहराइनमा कार्यरत नेपाली श्रमिकलाई समेटिएको सर्वेक्षण सन् २०२४ को जुलाई १४ देखि सेप्टेम्बर ७ तारिखसम्म भएको हो ।
धेरैजसो श्रमिकले सङ्घीय संसद्को प्रत्यक्ष निर्वाचन प्रणालीलाई प्राथमिकता दिएका छन् । मतदान विधिमा इलेक्ट्रोनिक वा इन्टरनेट भोटिङ सबैभन्दा बढी रोजाइमा परेको छ । दूतावासमार्फत प्रत्यक्ष मतदान दोस्रो विकल्पका रूपमा देखिएको छ । हुलाकमार्फत मतदान सबैभन्दा कम रुचाइएको विधि हो ।


