
काठमाडौं । आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा यो दिवस मनाइन्छ ।
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आप्रवासी श्रमिकका अधिकार सुनिश्चित गर्न कानुनी सुधारको माग गर्दै आएका छन् । सरकारको ध्यानाकर्षण गराउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ ।
रोजगारी र जीविकोपार्जनका लागि अर्को देश जाने प्रक्रियालाई आप्रवासन भनिन्छ । आप्रवासी गएको देशको कानुनअनुसार सेवा, सुविधा र सम्मान पाउनुपर्छ भन्ने सन्देश यो दिवसले दिने गरेको छ ।
सन् २००० देखि हरेक वर्ष यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपाली श्रमिकहरु खाडी देशहरु, मलेसिया, दक्षिण कोरिया, युरोप र अमेरिकामा काम गर्छन् । नेपालीहरू विश्वका झन्डै १९० देशमा पुगेका छन् ।
वैदेशिक रोजगारीमा गएका श्रमिकले दैनिक रूपमा श्रम शोषण, पारिश्रमिक नपाउने, स्वास्थ्य सेवा नपाउने जस्ता समस्या भोगिरहेका छन् । उनीहरुले पठाएको विप्रेषण देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ ।


