
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १२५ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो ।
नेपालका दिलसाद अलीले सबैभन्दा धेरै ३२, चन्दन रामले २७, अभिषेक तिवारीले २० रन बनाए । अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ तथा अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २/२ विकेट लिए ।
नेपाल र अफगानिस्तान दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो ।
आठ वटा टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् । एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आउँदो सोमवार पुस ६ गते हुनेछ ।


