
काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६१९ दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव १५ प्रतिशतले उकालो लागेको छ ।
आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत–गङ्ग हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव १६ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका ७८ लाख ४ हजार कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।


