
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा पढ्न जानेबाट ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष चार महिनामा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको यस वर्ष त्यही अवधिमा झनै बढेको हो ।
देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनाका चालू आर्थिक वर्षको चार महिनामा झण्डै १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ ।
अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको त्यही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।


