
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १३० रनमा अलआउट भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा १३० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका अभिषेक तिवारीले सबैभन्दा धेरै ३० रन बनाए ।
यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८, निरकुमारले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्नेछ ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया तथा समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई रहने टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।


