
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
आयोगले हिजो विज्ञप्ति निकाल्दै मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।
फैसला पुनरावलोकनका लागि सर्वोच्चमा गरिएको पुनरावेदनमा नवयुवा शहीद परिवारको तर्फबाट सरकारसँग सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ । मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो । विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले फैसलामा चित्त नबुझेकाले हिजो सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।


