
विराटनगर । मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लाइटिङ बोर्डिङ स्कुल क्षेत्रबाट गछिया खोलातर्फ जाँदै गरेको को. १ त. ६४५८ नम्बरको ट्याक्टर बिहान करिब ५ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिए पनि बिहान ७ः१५ बजे चिकित्सकले मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताउनु भयो । ट्याक्टर चालक, सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटमा शनिबार साँझ भएको अर्को दुर्घटनामा पैदलयात्रीले ज्यान गुमाएका छन् । विराटनगरबाट विराटचोकतर्फ गइरहेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले साँझ ७ः३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेले बताउनु भयो ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान–२ की १७ वर्षीया जिया तिगा पनि घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र विराट नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
यसैबीच, धनपालथान गाउँपालिका–४ मा २ साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । सखरदिना क्षेत्रबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझीलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।मो समयदेखि उपचाररत माझीको आइतबार बिहान ३ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा जीवन र मृत्युबीच संघर्ष गरिरहेका माझीले अन्ततः ज्यान गुमाएका छन् ।


