२०८२ मंसिर २६ शुक्रवार , ०६:०१:१३ बजे

Sajhamanch
'

एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गर्ने

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौर (१०८ रोपनी) मा हुँदैछ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको बताए । ‘९० प्रतिशत मञ्च व्यवस्थापनको काम सकेका छौँ । २१ गतेबाट सुरु गरेका हौँ’, उहाँले भन्नुभयो, ‘अबको चार घण्टामा सम्पन्न गर्दैछौँ ।’

उनले भक्तपुरको ऐतिहासिकतालाई ख्याल गर्दै भक्तपुर महाधिवेशनस्थल रोजिएको भन्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणको मन्दिरसहित काठमाडौँका विभिन्न मन्दिरहरु पनि राखिएको जानकारी दिनुभयो । तीन किलोमिटरसम्म सुन्न सकिने गरी श्रब्य दृश्यको व्यवस्था गरेको र अहिलेसम्मकै आधुनिक मञ्च बनाएको श्रेष्ठको भनाइ छ ।

२२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले ३ लाख मानिस उतार्ने जनाएको छ । महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको शुभकामना पत्र पढिनेछ भने देशका प्रमुख पार्टीका नेताहरूको स्वयं उपस्थित भएर एमालेलाई शुभकामना दिने एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले १० हजार स्वयंसेवक परिचालन गरिने बताउनु भयो । त्यस्तै उहाँले महाधिवेशन भयरहित बनाउन ५०० स्वयंसेवक ड्रेस कोडसहित नै परिचालन हुने बताउनु भयो ।

सम्बन्धित खबर